Express Saving and Credit Cooperative Society Ltd.

सहकारीमा आइपरेको विषम परिस्थितिः अभियान परिष्कृत र सुदृढ बनाउने अवसर

नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीको महत्व र आवश्यकतामा हामी कसैको पनि द्विविधा रहँदैन होला । भलै सहकारीका केहि समस्याहरु वास्तविकरुपमा देखा परेका छन् । तर ती समस्यालाई देखाएर अभियान नै सकाउने जोडतोडका साथ केहि तत्व बद्नियतपूर्ण ढंगबाट दुष्प्रचारमा लागेका छन् । त्यसलाइ चिरेर अझ परिष्कृत र सुदृढ सहकारी अभियान निर्माण गर्ने ढंगबाट अगाडि बढ्नु पर्छ। अभियान, संस्था र सदस्यलाइ त्यस दिशामा अभिमुख गराउनुपर्छ । विषम परिस्थितिमा सहकारी र सदस्यहरुले धेरै मानसिक तथा ब्यबहारिक उतार चढावको सामना सँगसँगै गरेका छन् । यस अर्थमा पनि सहकारी र सदस्य एक अर्काका पर्यायवाचीहरु हुन । त्यसैले अबका दिनमा सहकारीकर्मीहरुले पनि सहकारीको मर्म र भावनालाई आत्मसात गर्दै सहकारीका सिद्धान्त बमोजिम काम गर्नबाट विचलित हुनु हुँदैन् ।

हालको दिनमा देखिएको समस्या सहकारीको मात्र नभै समग्र देशको आर्थिक संकुचनको प्रभाव पनि हो भन्नेमा वक्ताहरुको तथ्याङ्कले प्रस्टाएको थियो । एकैचोटी क्यास विथड्रको लागि बैंकमा ग्राहकको लाईन लाग्ने हो भने शायद मै हुँ भन्ने कर्मसियल बैंकले पनि बचत फिर्ता दिन सक्दैन । चाडवाड तथा स्थिति प्रतिकूल अवस्थामा हुँदा बैंकहरुले ५ लाख पनि विथ ड्र नदिएको दृष्टान्त हाम्रा अनुभूतिमा छन् । आज सहकारीलाई चारैतिरबाट आक्रमण भएको छ यस्तो अवस्थामा पहिल्यै समस्याको संघारमा टेकिसकेका सहकारी संस्थाले कसरी समस्याको सामना गरुन ? जसको फलस्वरुप एकपछि अर्को समस्या उल्झँदै गयो त्यसको नकारात्मक प्रभाव राम्रै र सुसंगठित संस्थाहरुमा समेत देखिन थाल्यो । समस्या थियो सहकारीका सदस्यहरुको दिमागमा उब्जिएको सहकारी माथिको विश्वास र खस्कँदै गएको छविको । केहि सहकारीका संचालकहरुले जानेर नजानेर गल्ती कमीकमजोरी गरेकाे पाईएको छ, जुन उहाँहरुले सच्याउनै पर्छ, भुक्तान गर्नै पर्छ तर यसो भन्दैमा सबै सहकारी संस्था तथा सहकारी अभियानलाई नै एउटै डालोमा राखेर तुलना गर्न मिल्दैन । यी र यस्ता  घटना सहकारी अभियानका लागि अत्यन्तै दुःखदायी परिदृष्यहरु हुन् जसबाट समग्र अभियानले सिक्दै र बुझ्दै आफुलाई समयानुकुल सुदृढ बनाउँदै जानुपर्छ ।

आजका दिनका केहि हातमा गन्न सकिने सहकारीहरुको गतिविधि तथा छरिएका समस्याहरुले गर्दा समग्र सहकारी अभियानमा बाछिटा परेको छ । सहकारीको विश्वास र छविमा अहिले ठूलो आँच आएको छ । ठूला र राम्रा भनेर चिनिने सहकारीहरुलाई पनि सहकारी अभियानमा धमिलिँदै गएको छविले प्रतिकूल प्रवाभ पारेको हो । त्यसैले सबै सहकारीकर्मीहरुले एकजुट भएर सहकारीको विश्वास र छविमा सुधार ल्याउँन तनमनले प्रयास गर्नुपर्छ । भएगरेका कमीकमजोरीलाई आत्मसात गरेर संस्थालाई सुशासन योग्य बनाई आवद्ध सदस्यहरुलाई कुराले मात्र हैन कामले समेत विश्वस्त बनाउन सक्नुपर्छ । गलत गर्नु हुँदैन तर विगतका कार्यगत कमीकमजोरीलाई आत्मसात गरि आजैबाट सुर्धान प्रयास गर्नुपर्छ किनकी हिजोको दिन जस्तो आज छैन र आजको दिन जस्तो भोलि रहने पनि छैन । प्रकृतिको सत्य जस्तै दिन पछि रात आउँछ र रात पछि दिन । अब फेरी सहकारीमा मिर्मिरे उज्यालो सहितको रमाईलो घमाईलो दिन आउनेछ । जहाँ सबै सहकारीकर्मी र आवद्ध सदस्यहरु खुशी हुनेछन् । 
“अबका दिनमा सबै सहकारी संस्थाका अध्यक्ष लगायतका सञ्चालक समिति, उपसमितिहरु र ब्यवस्थापकहरुले सदस्यहरुले हामीलाई विश्वास गरेर दिनुभएको हाम्रो जिम्मेवारी र भूमिकामा हामी चुक्ने छैनौं । जिम्मेवारी र भूमिकाको आधारमा हामी हाम्रा समस्त सदस्यहरुको बचतको पूर्णरुपमा ब्यक्तिगत तथा संस्थागत जिम्मेवारी लिन्छौं र ऋणको कारोबार गर्ने सदस्यहरुले पनि सदस्यको बचतको अंशबाट हामीले संस्थाबाट लिएको ऋण जस्तोसुकै परिस्थितिमा पनि इमान्दारिताका साथ भुक्तानी गर्नेछौं” भन्नेमा प्रतिवद्ध हुनुपर्छ । संस्था र सदस्यहरुको बीचमा बढ्न गएको दुरीलाई विश्वास र सद्भावको माध्यमबाट दुरी शुन्य गर्नुपर्दछ । एउटा सहकारी संस्थाको लागि सदस्य त्यो सहकारीको ग्राहक हैन पारिवारिक सदस्य हो भने एउटा सदस्यको लागि आवद्ध सहकारी संस्था कुनै निकाय हैन, घर हो । यत्ति धेरै सुमधुर र नजिकको सम्बन्ध छ कि सहकारी र सदस्यमा जुन अन्य कहिँ हुनै सक्दैन । त्यसैले त सहकारीका आवद्ध ब्यक्तिहरुलाई अरुले जस्तो क्लाइन्ट नभनी र सदस्यको रुपमा नामाकरण गरी जिम्मेवारी र भूमिका दिइएको छ । जसलाई पछिल्ला समयहरुमा कहिँकतैबाट अपभ्रंश गर्ने प्रयास भएको छ । जसमा सहकारी र सम्वद्ध सदस्य सतर्क रहनु जरुरी छ र आफ्नो संस्थाप्रति विश्वस्त रही आफ्ना बचत तथा ऋणका कारोबारहरु निर्धक्कले गर्नुपर्दछ । किनकी संस्था तपाईको पनि हो र तपाईं संस्थाको एक जिम्मेवार सदस्य हो जसले भोलि अध्यक्ष बन्ने हैसियत राख्नुहुन्छ ।  

हामी कसैले पनि नेपालको सन्दर्भमा सहकारीको महत्व, भूमिका र योगदानलाई भूल्नु हुँदैन । केहि धनाढ्य वर्गलाई लाग्न सक्छ, यस्ता ताल न बेतालका सहकारीहरु छन् । तर राज्यले समेत तीनखम्बे अर्थनीतिमा एक खम्बाको रुपमा सहकारीलाई स्थापित गरेर यसको महत्व र आवश्यकतालाई प्रस्टाइएको छ । सहकारी त्यो आधार स्तम्भ हो जसले ती गरिब दुःखीहरुको घाउमा मल्हम लगाएको छ । साना साना त्यसै खर्च भएर जाने १०–२० रुपैयाँका अंशहरुलाई सदस्यहरुको घरदैलोमा नै पुगेर सेवा दिई संकलन गरेर ल्याई पूँजी निर्माणको रुपमा विकास गरेको छ । सो बचतलाई आवश्यक परेका सदस्यहरुलाई नै कर्जाको रुपमा परिचालन गरि सदस्यहरुलाई सानो तिनो ब्यापार गर्न, उद्यम गर्न प्रेरित गरेको छ । बस् आकार र भूमिकामा उमेर अनुसार परिर्वतन भयो होला । समयक्रमसँगै सबै ठूला भए, राम्रा भए । सदस्य पनि संस्था पनि । कार्य सञ्चालनका दौरानमा केहि स्वार्थ समुहरुको नीजि स्वार्थ, राज्यका नीतिगत तथा आर्थिक संरचना लगायतका विभिन्न प्रभावहरुले गर्दा केहि सहकारीहरुले बाटो बिराए । जसको कारण विस्तारै समस्याको सृजना हुन पुग्यो । हालको परिप्रेक्ष्यमा त अन्य कारणहरुको तुलनामा विश्वमा नै देखिएको आर्थिक मन्दी, देशको आर्थिक संकुचन, ब्यापार ब्यवसायमा आएको गिरावट, मानिसहरुको आय आएको कमीले क्रयशक्तिमा परेको प्रभाव, कर्जा कारोबार गर्ने सदस्यहरुको कारोबारमा आएको गिरावट आदि विभिन्न कारणहरुले गर्दा कर्जा भुक्तानीमा परेको कठिनाई, नकारात्मक समाचारको शिर्षक, सामाजिक सञ्जालको दुरुपयोग आदिको कारण चक्रियरुपमा एक अर्काका आर्थिक क्रियाक्लापहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैलाई असर प¥यो जसको फलस्वरुप सामान्य मानिसहरुको दैनिकीको साथमा वित्त, सहकारी, बैंक र राज्य सबैलाई आ–आफ्नो प्रकृति अनुरुपको नकारात्मक असर देखाप¥यो । बैंकको ब्याजदर बढ्दा ऋणी तथा ब्यवसायीहरुको ऋण भुक्तानीमा प्रत्यक्ष असर प¥यो भने बढ्दो मुद्रास्फितीको कारण बाह्य क्रय, विक्रय तथा भुक्तानी सन्तुलनमा प्रतिकूल असर पर्न विकास निर्माणका कार्यमा प्रवाभ पर्न गै सर्वसाधारणको जिवनस्तरमा नै प्रतिकूल प्रभाव पर्न गएको कुरालाई पनि हामीले बिर्सनु हुन्न । यस्तो अवस्थामा सबैभन्दा पहिला सदस्यहरुमा संयमताको जरुरी छ भने राज्य, सहकारी संघहरु तथा पत्रकार मित्रहरुबाट सकारात्मक सन्देश सहितको सुचना संपे्रशणको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ ।

हाम्रो मानसिकता के छ भने नकारात्मक शीर्षकको पछाडि धेरै लाग्ने, सोही शीर्षकको आधारमा आफ्नो धारणा बनाउने र शीर्षक लेख्नेहरुले पनि भ्यूअर्सको संख्या बृद्धिको लागि सकारात्मक पाटोलाई छोपेर नकारात्मक शब्द संयोजन गर्ने चलन छ । यदि हामी सबै सकारात्मक भएर सोच्ने हो भने धेरै नकारात्मक पाटाहरु पनि सहज ढंगबाट सम्पन्न हुनेछन् त्यसैले सकारात्मक सोचौं, सकारात्मक बनौं यो मेरो अपिल हो । सहकारी संस्थाहरु सबै नराम्रा छैनन् र नकारात्मक शीर्षकले बिम्वित गरेको जस्तो भागेका पनि होईनन् र कोहि कतै भाग्न सक्ने अवस्था पनि छैन किनकी विद्यमान ऐन कानुनले संचालकहरु, व्यवस्थापक लगायतलाई आफ्नो जिम्मेवारी र भूमिकाबाट उम्कन सक्ने ठाउँ कही छाडेको पनि छैन । स्थानीयस्तरमा संचालित सहकारीले बद्मासी गर्न सक्ने अवस्था नै अत्यन्त न्यून हुन्छ किनकी ती संचालक, ब्यवस्थापक पनि त्यहि समाजको एक जिम्मेवार र परिचित अनुहारहरु हुन् । त्यसैले असान्दर्भिक लेनदेनको प्रवाभमा नपरी सुझेर बुझेर कारोबार गरौं तपाई आवद्ध सहकारी संस्था तपाईको नै हो । कसैले नराम्रो भन्यो भन्दैमा त्यसको प्रभावमा नपरी आफै सहकारी संस्थामा गएर बुझौं, ब्यवस्थापनसँग जिम्मेवारी सहितको कुरा गरौं अनि आफ्नो स्व–विवेकले निर्णय लिऔं । स्वतन्त्र ढंगले सदस्य बन्ने, बचत राख्ने, झिक्ने र कारोबार गर्ने तपाईको नैसर्गिक अधिकार हो । हामीहरु सबैको यो साझा चौतारी सहकारीलाई समस्या रहित बनाउँदै अझै सबल र सुदृढ बनाउँदै लैजानको लागि हातेमालो गर्न सबै सरोकारवाला वर्गहरु, सदस्यज्यूहरु, संचालकज्यूहरु र ब्यबस्थापकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु । एउटै आगनमा धेरैलाई अटाएर आफ्नोपन दिनसक्ने एकमात्र सदस्यहरुको आफ्नो संस्था सहकारी नै हो जुन सदस्यका दुःख सुखका सहयात्री हुन् ।

थापा एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाका प्रमुख कार्यकारी अधिकृत हुन् ।